असाेज ३०, म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।
सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँच जना शेर्पाहरुको टोली शव उठाउन खटिएका छन् । घटनास्थलबाट इटाली आधार शिविरमा आज बिहान ११ बजेसम्म एक वटा शव झारेका र अन्य शव सङ्कलन गरेर आधार शिविरमा ल्याउने तयारी भएको प्रनाउ श्रेष्ठले बताए ।
आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियन अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।