कार्तिक २४, काठमाडौँ । धारापानी र खुदी सबस्टेसन निर्माणपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना कार्यालयले जनाएको छ।
आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ भने लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन अन्तिम चरणमा पुगेको हो।
दुवै स्थानका सबस्टेसन निर्माण निर्धारित समयमा सम्पन्न भएमा लमजुङ र मनाङको विद्युत् आपूर्ति सहज हुनुका साथै भरपर्दो र गुणस्तरीय सेवा प्रवाह हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
धरापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ। खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी अन्तिम चरणको काम भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ। धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायत सिभिल संरचनाको निर्माण तीव्र गतिमा भइरहेको छ।