अस्ट्रियन कलाकारले काठमाडौंमा प्रस्तुत गरे प्यान्टोमाइम

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ मंसिर ७, शुक्रबार (५ महिना अघि)
  • ७६ पटक पढिएको
अस्ट्रियन कलाकारले काठमाडौंमा प्रस्तुत गरे प्यान्टोमाइम

कात्तिक ७,काठमाडौँ । प्रतिभाशाली अस्ट्रियन कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले प्यान्टोमाइम प्रस्तुतिमार्फत दर्शकलाई मन्त्रमुग्ध पारेका छन् । कार्यक्रम पाटन दरबार स्क्वायरको पाटन म्युजियममा आयोजना गरिएको थियो । कला र संस्कृतिको माध्यमबाट दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध प्रगाढ बनाउने तथा नेपाल र अस्ट्रियाबीचको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यले नयाँदिल्ली स्थित अस्ट्रियन राजदूतावासले उक्त कार्यक्रम आयोजना गरेको हो ।

यो सांस्कृतिक पहलले नेपाल र मित्रराष्ट्र अस्ट्रियाबीचको बलियो सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । “कूटनीति राजनीतिक र आर्थिक सम्बन्धमात्र होइन;सांस्कृतिक आदानप्रदान, समझदारी निर्माण र मुलुकहरुबीचको मित्रताको सबलीकरणबाट पनि यो फस्टाउँछ” नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले भने । यस्ता कार्यक्रमले एक अर्काको सांस्कृतिक पहिचानबारे ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्ने र नेपाल सँगको मित्रताप्रति मित्रराष्ट्र अस्ट्रियाको प्रतिबद्धता झल्काउने पनि उनले बताए ।

मनकामना केबलकारको प्रायोजन तथा नेपालका लागि अस्ट्रियाको अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठको सहयोग रहेको कार्यक्रममा नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूतावास अन्तर्गतको अस्ट्रियन कल्चरल फोरमका डाइरेक्टर माइकल पल र उनकी श्रीमती इरेना पल पनि सहभागी थिए ।
प्यान्टोमाइम रंगमञ्चीय प्रस्तुति हो । यसमा कलाकारको अनुहारको भाव र शारीरिक हाउभाउ मार्फत कथा प्रस्तुत गरिन्छ ।
यसअघि पनि कैयौंपटक सफलतापूर्वक सांस्कृतिक आदान प्रदान कार्यक्रम सम्पन्न गरिसकेको अस्ट्रियन दूतावासले अगाामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस