आज १९ औँ लोकतन्त्र दिवस

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ११, बिहिबार (१ हप्ता अघि)
  • ६७ पटक पढिएको
आज १९ औँ लोकतन्त्र दिवस

काठमाडौं । आज लोकतन्त्र दिवस । आज १९ औँ लोकतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

२०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले पुनःस्थापना गरेको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

२०५९ असोजमा संसद् विघटनपछि निर्वाचन नहुँदा राजाले इच्छा लागेकालाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृंखला चल्यो । यस अवधिमा तत्कालीन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए ।

२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो । २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट विभिन्न ध्रुवमा विभाजित राजनीतिक शक्ति एक ठाउँमा आएपछि दोस्रो जनआन्दोलन २०६२/०६३ चलेको थियो ।

जन दबाब स्वरुप तत्कालीन राजा ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरेका थिए । यसै दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ । यो दिन नै गणतन्त्रको जग बन्यो ।

यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुनै नसक्ने नेताहरुको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस