एशियन गेम्स : जापानसँग नेपाल १–० ले पराजित !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण २९, मंगलबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

साउन २९,काठमाडौँ । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा मंगलबार नेपाल जापानसँग १-० ले पराजित भएको छ ।

इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा नेपाली टोली दबाबमा रहे पनि गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे । जापानका लागि खेलको सातौँ मिनेटमा मितोमा काओरुले गरेको गोल नै निर्णायक बन्यो ।

नेपालको २३ वर्षमुनिको टोलीले पहिलो खेलमा नै जापानको २१ वर्षमुनिको टोलीको सामना गरेको हो । एसियाली खेलकुदमा यसअघि जापानसँगका तीन खेलमा १४ गोल खाएको नेपालले यसपटक सुधारिएको खेल देखाएको हो ।

समूह ‘डी’ मा नेपालसहित जापान, पाकिस्तान र भियतनाम छन् । प्रतियोगिताको दोस्रो खेलमा नेपाल यु-२३ ले भियतनाम यु-२३ सँग अगष्ट १६ मा र अन्तिम खेलमा पाकिस्तान यु-२३ सँग अगष्ट १९ मा प्रतिस्पर्धा गर्ने छ ।

सन् १९८६ मा दक्षिण कोरियामा भएको खेलमा जापानसँग ५-० ले हारेको नेपाल १९९८ मा थाइल्याण्डमा पनि ५-० ले साथै २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा ४-० ले हारेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस