भाद्र १३, काठमाडौं । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गरिरहेको छ।
मलेसियास्थित बायुमास ओभल क्रिकेट मैदानमा सुरु भएको छनोट खेलमा नेपाल विजय लक्ष्यसाथ मैदानमा उत्रिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म २१ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ७९ रन जोडेको छ । कप्तान पारस खड्का मात्रै ८ रन जोडेर आउट भएका छन् । यस्तै सुवास खकुरेल मात्र ४ रन जोडेर आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ रनको योगदान दिँदै आउट भए ।
विगतको नतिजा
एक दिवसीय खेलमा नेपाल र ओमन अहिलेसम्म पाँच पटक आमनेसामने भैसकेका छन् । नतिजा नेपालले पक्षमा तीन र ओमनले दुई खेलमा विजय हासिल गरेको छ ।
सन् २००२ को एसिसी ट्रफीमा नेपालले ओमनलाई १०५ रनले पराजित गरेको थियो । सन् २०१० को एसिसी ट्रफी एलिट कपमा नेपालले ओमनलाई ६ विकेटले तथा सन् २०१३ को डिभिजन तीनमा नेपालले लिग चरणको खेलमा ओमनलाई २८ रनले पराजित गरेको थियो । गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन दुईमा ओमनले नेपाललाई पराजित गरेको थियो । सन् २०१४ को एसिसी प्रिमियर लिगमा ओमनले नेपाललाई दुई विकेटले पराजित गरेको थियो ।
छनोट खेलमा सहभागि टोली
एशिया कप छनोट खेलमा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब इमिरेटस् (युएइ), हङकङ, सिङ्गापुर र ओमान गरी छ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले भदौ १३ मा युएइसँग, १४ मा मलेसियासँग, १६ मा सिंगापुरसँग तथा हङकङसँग १९ गते खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नुका साथै विजेता टोलीले एशिया कपमा सहभागिता जनाउने छन्।
एशिया कप भने यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । उक्त प्रतियोगता तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेको थियो । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलङ्कन आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पराजित गरेको थियो ।
नेपाली टीममा को–को ?
नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् ।