भाद्र १०, काठमाडौं । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–सेन्ट जर्मेन (पिएसजी) लाई गम्भीर धक्का लागेको छ । पिएसजीका दुई स्टार खेलाडी एकपटक चोटग्रस्त भएका छन् र उनीहरु अबको केही हप्ता खेल्न नसक्ने भएका छन् ।
एडिन्सन काभानी र केलियन एमबाप्पे चोटग्रस्त भएर खेल्न नसक्ने भएका हुन् । काभानी चार तथा एमबाप्पे तीन हप्ता मैदान बाहिर हुने भएका छन् ।
उनीहरु दुवै लिग वान फुटबल अन्तर्गत आइतबार राति टुलुजसँगको खेलको क्रममा चोटग्रस्त भएका हुन् । सो खेलमा पिएसजी ४–० ले विजयी भएको थियो ।
काभानीको हिपमा चोट लागेको छ भने एमबाप्पेको हामस्ट्रिङ्गमा चोट लागेको छ । दुवै खेलाडीले लिगका कम्तिमा दुई खेल गुमाउने छन् । तर आउँदो सेप्टेम्बर १७ या १८ मा हुने च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा भने काभानी उपलब्ध हुने अपेक्षा गरिएको छ ।
पिएसजीका अर्का स्टार खेलाडी नेइमारमाथि यो सिजनका तीन खेलमा प्रतिबन्ध लागेको छ । तर उनी बार्सिलोना फर्किने प्रयासमा छन् । युरोपियन ट्रान्सफर विन्डो सेप्टेम्बर २ मा बन्द हुनुपूर्व उनी पिएसजी छोडेर जान चाहन्छन् ।