बार्सिलोनाले माफी माग्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र १०, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १०, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा दोस्रो खेलमा आएर पहिलो जित दर्ता गरेको बार्सिलोनाले माफी माग्नु परेको छ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ ले पराजित गरेको थियो । पहिलो खेलमा हार बेहोरेको बार्सिलोनाले दोस्रो खेलमा जित निकालेपछि गरेको ट्वीटका लागि माफी माग्नु परेको हो ।

आइतबार रातिको जितपछि बार्सिलोनाले जुनिएर फिर्पोको तस्बिर पोस्ट गरेको थियो, जसमा उनले आफ्नो हात उठाएर अभिवाद गरिरहेका छन् । बार्सिलोनाले यो तस्बिर ‘जुनियर नोज’ क्याप्सनसहित ट्वीट गरेको थियो ।

ला लिगाको साबिक विजेता बार्सिलोनाले उनलाई गएको अगस्टमा रियल बेटिसबाट अनुबन्धित गरेको थियो ।

बार्सिलोनाले माफी माग्दै लेखेको छ, ‘कसैलाई अपमान गर्ने मनसाय राखिएको होइन, तर जुनियरका लागि निकै महत्वपूर्ण रहेको दिनमा यो पोस्ट गर्नु गलत भयो ।’

बार्सिलोनाले लेखेको छ, ‘बार्सिलोना यसबाट रियल बेटिसले भोग्नु परेको अपमानप्रति माफी चाहन्छ।’

फिर्पोले आइतबार रातिकै खेलमा बार्सिलोनामा डेब्यु गरेका थिए । उनी राफिन्हा बाहिर निस्किएपछि ८१ औँ मिनेटमा मैदान पसेका थिए । २३ वर्षका फिर्पोले रियल बेटिसबाट गएको सिजन २९ खेल खेलेका थिए । यस्तै गएको जुनमा २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिप जित्ने स्पेनिस टिममा पनि उनी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस