साउन ७, काठमाडौं । ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद सागमा पदक जिते नेपाली खेलाडीले पाउने सरकारी पुरस्कार रकममा उल्लेख्य वृद्धि गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्ने प्रस्तावमा विहीबार मन्त्रिपरिषद्को बैठकले शैद्धान्तिक सहमती दिएसँगै कार्यान्वयनमा आउने भएको हो । पुरस्कार कार्यविधि खेलकुद नियमावलीमै गाभेर लागू गर्न लागिएको छ ।
नयाँ व्यवस्थाअनुसार ओलम्पिक खेलकुदअन्तर्गत ग्रिष्मकालीन, शीतकालीन र पारा ओलम्पिक सँगै फिफा विश्वकप फुटबलमा पदक विजेतालाई समान पुरस्कारको व्यवस्था गरिएको छ । यी खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले एकल खेलतर्फ १ करोड ३० लाख र सामूहिक खेलतर्फ जनही ५२ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । रजत जितेमा एकलतर्फ ९७ लाख र सामुहिक खेलतर्फ जनही ४५ लाख तथा कांस्य जितेमा एकलतर्फ ६५ लाख र सामूहिकतर्फ जनही २६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।