वैशाख १८, काठमाडौं । चेन्नई सुपर किङ्स ४ खेलअगावै इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ । बुधबार सम्पन्न खेलमा पञ्जाब किङ्ससँग ४ विकेटको हारसँगै चेन्नई प्लेअफ होडबाट बाहिरिएको हो ।
चेन्नईले दिएको १९१ रनको लक्ष्य पञ्जाबले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । पञ्जाबको जितमा कप्तान श्रेयस अय्यरले सर्वाधिक ७२ रन बनाए । ओपनर प्रभसिमरन सिंहले ५४ रन तथा अर्का ओपनर प्रियान्श आर्या र शशांक सिंहले समान २३ रन बनाए ।
चेन्नईका लागि मथिसा पथिराना र खलील अहमदले २/२ विकेट लिँदा नूर अहमद र रविन्द्र जडेजाले १/१ विकेट लिए ।
त्यसअघि घरेलु टोली चेन्नईले १९.२ ओभरमा अलआउट हुँदै १९० रन बनाएको थियो । चेन्नईका लागि साम करानले सर्वाधिक ८८ रन बनाए भने डेवाल्ड ब्रेभिसले ३२ रन बनाए । रविन्द्र जडेजाले १७ रन बनाए ।
१८औं ओभरमा क्रिजमा आएका एमएस धोनीले एक चौका र एक छक्का प्रहार गरेपछि चहलको बलमा क्याचआउट भए ।
चहलले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिए भने अर्शदीप सिंह र मार्को यानसेनले २/२ तथा हरप्रीत ब्रार र अजमतुल्लाह ओमरजाइले १/१ विकेट हात पारे ।
यस जितसँगै १० खेलमा १३ अंक भएको पञ्जाब अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । १० खेलमा ४ अंकका साथ चेन्नई पुछारमा छ ।