चिकित्सक संघ र सरकारबीच सहमति, आवासीय चिकित्सक असन्तुष्ट

चिकित्सक संघ र सरकारबीच सहमति, आवासीय चिकित्सक असन्तुष्ट

वैशाख २०, काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारबीच तीन वटा विषयमा सहमति भएको छ । शनिबार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि तीन विषयमा सहमति भएको हो ।

स्वास्थ्यमन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने बताए पछि तीन वटा सम्झौता भएको हो ।

तीन विषयमा सहमति भएसँगै आवासीय चिकित्सकहरुको आन्दोलन स्थगित भएको भन्दै मन्त्री पौडलले आवासीय चिकित्सकहरुलाई काम गर्ने वातावरण बनाइदिन निजी मेडिकल कलेजसँग आग्रह गरे । उनले चिकित्सा शिक्षा आयोगले गरेका निर्णयहरु सबै कार्यान्वयन गर्नेगरी मन्त्रालयले वातावरण बनाउने प्रतिबद्धता जनाए ।

आवासीय चिकित्सकहरुले निर्वाह भत्ता आठौं तह सरह हुनुपर्ने, आवासीय चिकित्सकहरुको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा उठाएर चैत २१ गतेदेखि आन्दोलन गर्दै आएका थिए । अहिले आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौं तह सरह भत्ता दिने प्रतिवद्धता आएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिलविक्रम कार्कीले प्रतिवद्धता पूरा नभए आन्दोलनमा पुनः आउन बाध्य हुने चेतावनी दिएका छन् । तर स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरेले भने आन्दोलन जारी नै रहेको बताए । आफुहरुले कुनै पनि सहमति नगरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस