नाइजेरियामा इन्धन गाडी विस्फोट : ४५ जनाको मृत्यु , १०० भन्दा बढी घाइते

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ अषाढ १८, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १८,काठमाडौँ । अहुम्बे-नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले मङ्गलबार जनाएको छ ।

पेट्रोल गाडी सडकमा ढलेपछि यसबाट चुहेको इन्धनलाई जम्मा गर्न सडकमा भेला भएका नागरिकहरूको दुर्घटनामा मृत्यु भएको बताइएको छ । ट्रक बेनु राज्यको ओहुम्बे गाउँमा दुर्घटनाग्रस्त भएको थियो ।

सडक सुरक्षा मामिला हेर्ने संघीय आयोगका कमान्डर अलियुबाबाले घटनाको पुष्टि गर्दै भने, “हामीले ४५ मृत शरीरलाई घटनास्थलबाट निकालेका छौँ भने कम्तीमा १०० घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अधिकांशको शरीरका भागहरू जलेका र मृतकको सङ्ख्या बढ्नसक्ने अस्पताल स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।” मृतकमध्ये एक गर्भवती महिला र कम्तीमा दुईजना साना केटाकेटीहरू रहेका छन् ।

अधिकारीका अनुसार घटनास्थल नजिकैबाट एउटा बस पास हुने क्रममा बसको इन्जिनबाट निस्केको आगोका झिल्काका कारण आगलागी भएको पनि बताइएको छ । घटनामा एउटा सडक छेउमा रहेको घर पनि जलेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस