अमेरिकाले साउदी अरेबियामा सेना पठाउने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ आश्विन ४, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाडौं । अमेरिकाले साउदी अरेबियामा आफ्नो सेना पठाउने योजना सार्वजनिक गरेको छ । साउदी अरेबियाका दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा क्रुज मिसाइल आक्रमणपछि अमेरिकाले सेना पठाउने योजना बनाएको हो ।

रक्षात्मक प्रयोजनका लागि सेना पठाउने तयारी गरिएको अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताएका छन्।

साउदी अरेबिया पठाउने अमेरिकी सेनाको संख्या भने खुलाइएको छैन । गएको हप्ता साउदी अरेबियामा सरकारी स्वामित्वका दुई तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको जिम्मा इरानको साथ पाएको यमनको हुथी बिद्रोहीले लिएको छ । तर आक्रमण हुथी बिद्रोहीबाट नभई इरानबाटै भएको अमेरिका र साउदी अरेबियाको दाबी छ । इरानले यो आरोप अस्वीकार गर्दै आएको छ ।

शुक्रबार सबेरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध उच्च तहको प्रतिबन्ध लगाउने बताए । उनले सैन्य तनाव सकेसम्म नहोस् भन्ने पक्षमा आफू रहेको बताएका छन् । अमेरिकाले लगाउने नयाँ प्रतिबन्ध इरानको केन्द्रीय बैंकमा केन्द्रित हुनेछ ।

साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको संयुक्त आग्रहमा अमेरिकाले सेना पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको भनाई छ । अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने बताइएको छ ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा गएको शनिबार १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमण पश्चात साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस