मंसिर २०, काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको धेरै भाग जलेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुईजना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन् । अदालतमा उक्त मुद्दाको सुनुवाइका लागि ती महिला जाँदै गर्दा बाटोमा पर्ने ट्रेन स्टेसनमा पुरुषहरूको एक समूहले तानेर नजिकैको खेतमा पु-याई आगो लगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनापछि बलात्कार गरेको आरोप लागेका दुईजनासँगै अरू तीनजना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ ।
बलात्कारसम्बन्धी अर्को घटनाका कारण उन्नाओ जिल्ला हालसालै समाचारमा आएको थियो। सत्तारुढ दल भाजपाका एक सांसदविरुद्ध हत्या अभियोगको मुद्दा प्रहरीले अगाडि बढाएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएकी ती महिलाले भाजपा सांसदले बलात्कार गरेको अभियोग लगाएकी थिइन् । उक्त दुर्घटनामा ती महिलाका दुईजना नातेदारका मृत्यु भएको थियो भने तिनका वकिल घाइते भएका थिए । नागरिक दैनिकमा खबर छ ।