पौष १७, काठमाण्डौँ । घरभित्रका किरा स्वभाविक रुपमा कसैलाई मन पर्दैन । त्यसमा पनि विशेषगरी कुनामा जालो बनाएर फोहोर गरिदिने र हेर्दापनि डरलाग्दो हुने अनि टोकिदिने डरका कारण पनि माकुरा हाम्रो ठूलो शत्रु बन्न पुग्छ ।
तर जीवविद्हरुले भने सबैलाई घरभित्रका माकुरा नमार्न सुझाव दिइरहेका छन् । माकुरा प्रकृतिको महत्वपूर्ण हिस्सा हुनुका साथै यसले हामीलाई अप्रत्यक्ष रुपमा धेरै फाइदा गराउने हुँदा तिनलाई जिवितै छाडिदिन उनीहरुले भनेका छन् ।
नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका मेट बर्टोनले आफ्ना सहकर्मीसँग मिलेर ५० वटा घरको अध्ययन गरेका हुन् । सबै घरमा उनीहरुले माकुरा फेला पारे जसमा प्रायः एकै प्रजातिका र कम हानिकारक थिए । उनीहरुका अनुसार माकुराले धेरै अवस्थामा हामीलाई नराम्रोबाट बचाइरहेको हुन्छ ।
जस्तै यसले रोग बोक्ने वा झन्झटपूर्ण ससाना किराहरु – झिँगा, लामखुट्टे, साङ्ला लगायतलाई जालमा पारेर खाइदिने गर्दछ । अफ्रिकाका घरहरुमा एक प्रजातिको माकुराले रगत चुसेको लामखुट्टे सबै खाइदिने गरेको छ । त्यसैले माकुरा घरमा हुनुले हामी त्यस्ता संक्रमण फैलाउन सक्ने किराहरुबाट मुक्त हुन सक्छौँ ।
विज्ञानका अनुसार विश्वव्यापी रुपमा माकुराहरुले पृथ्वीभरबाट ८० करोड किराहरु खाने गर्दछन् ।
त्यसैले माकुरा नहुने हो भने ती किराहरुले हाम्रै लागि समस्या उत्पन्न गराउन सक्छन् । कमिला र चराहरुपछि किराहरुको जनसङ्ख्या सन्तुलित राख्नमा माकुराको योगदान सबैभन्दा बढी रहने गरेको छ ।
माकुरासँग डराउनु स्वभाविक कुरा हो तर वास्तवमा तिनीहरु पनि हाम्रो सामना गर्न चाहँदैनन् ।
उनीहरु लजालु प्रवृत्तिका हुन्छन् । त्यसैले हामी जति उनीहरुसँग डराउछौँ उनीहरु मान्छेबाट त्यो भन्दा धेरै टाढा रहन चाहान्छन् । त्यस्तै माकुराको टोकाइका घटना पनि अत्यन्तै दुर्लभ हुन्छ र टोक्यो भनेपनि यिनमा हुने विष प्रायः हामीलाई हानि पुर्याउन सक्नेगरी शक्तिशाली हुँदैनन् ।
स्तोमा हामीले घरभित्र माकुरा भेटायौँ भनेपनि त्यसलाई मार्नुको सट्टा कुनै बट्टाभित्र कैद गरि बाहिर फाल्न उनीहरुको सुझाव छ । उनीहरुका अनुसार घरभित्र हुने माकुरा प्राकृतिक वातावरण सन्तुलनका लागि महत्वपूर्ण मानिन्छन् र हामीले आफ्नो घरमा कहिल्यै नभेटाएपनि माकुराहरु कहिँ न कहिँ बसिरहेकै हुन्छन् । एजेन्सी । – टाइमबाट