भदौ १, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गरे ।
विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे । आइतबार तालिबान लडाकुहरु राजधानी काबुल प्रवेशगरेलगत्तै राष्ट्रपति असरफ घानीले देश छाडेका थिए ।
अफगानिस्तानको यो अवस्था आउनुमा आफूप्रति प्रश्न उठिरहेको भन्दै अमेरिकी राष्ट्रपति बाइडनले देश छाडेर भाग्ने राष्ट्रपति घानीलाई पनि प्रश्न उठाउनु पर्ने बताए ।
तालिबानले अफगानिस्तान कब्जा गर्नुमा सरकारकै कमजोरी औंल्याउँदै उनले भने, ‘हामीले हजारौं सैनिक अफगानिस्तान पठायौं, अफगान सेनालाई तालिम दियौ। अरबौं डलर खर्च गर्यौं । अफगान सुरक्षा बललाई २० वर्ष तालिम दियौं । तर अफगानिस्तानका नेताहरु देश छाडेर भागे, छिट्टै हतियार बुझाए ।
अफगानिस्तानको अवस्था अचानक बदलिएको बताउँदै उनले आतंकवादविरुद्धको लडाइँ जारी रहने बताए ।