कार्तिक २०, एजेन्सी । अमेरिकाको टेक्सासमा एक म्युजिक फेस्टिबलमा भागदौड मच्चिँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । घटनामा ३ सय जनाभन्दा बढी घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टेक्सासको हस्टन शहरमा भएको म्युजिक फेस्टिबलमा केही व्यक्ति स्टेजतर्फ अगाडि बढ्न खोज्दा भागदौड मच्चिएको थियो । उक्त घटनामा ११ जना गम्भीर घाइते भएकाहरुलाई अस्पताल लगिएको र उनीहरुमध्ये ८ जनाको उपचारको क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ ।
कार्यक्रम हेर्न करिब ५० हजार जना दर्शक उपस्थित रहेको अनुमान छ । हस्टनका अग्नि प्रमुख सैमुअल पेनाले भीड विस्तारै स्टेजतर्फ बढ्दा दर्शकहरु डराई भाग्न थाल्दा घटना भएको बताए । भागदौडको घटनापछि उक्त म्युजिक फेस्टिबल रोकिएको थियो ।