कार्तिक २१, एजेन्सी । इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीको निवासमा ड्रोन आक्रमण भएको छ । आज बिहानै भएको आक्रमणमा प्रधानमन्त्री कदिमी भने सुरक्षित रहेको जनाइएको छ ।
इराकी सेनाले एक विज्ञप्ति जारी गर्दै राजधानी बगदादस्थित ग्रिन जोन क्षेत्रमा भएको आक्रमणमा प्रधानमन्त्री भने सुरक्षित रहेको उल्लेख गरेको छ । आक्रमणपछि प्रधानमन्त्री कदिमीले ट्विटरमार्फत् आफू सुरक्षित रहेको जानकारी दिनुभएको छ । साथै उनले शान्ति कायम गर्न आग्रहसमेत गरेका छन् ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन । ग्रिन क्षेत्रमा रहेका पश्चिमा मुलुकका कुटनीतिज्ञहरुले विस्फोट र गोलाबारीको आवाज सुनेको बताएको बीबीसीले जनाएको छ ।
पछिल्ला केही दिनदेखि ग्रिन जोन बाहिर इरान समर्थित हतियारबन्द संगठनहरुले इराक सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन् । गत महिना भएको चुनावपछि यस क्षेत्रमा विरोध भइरहेको छ । संसदीय चुनावमा पराजित भएका दलहरुले पनि पनि धाँदली भएको भन्दै विरोध गरिरहेका छन् ।