फागुन ६,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा गायक पशुपति शर्माले गाएको लोकदोहोरी गीतलाई लिएर प्रमुख प्रतिपक्षी र सत्तापक्षका सांसदबीच दोहोरी चलेको छ ।
बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मा ‘जनगायक’ रहेको भन्दै सरकारले उनले गाएको गीत प्रतिबन्ध लगाउनुले लोकतन्त्र कहाँ छ भनेर प्रश्न उब्जिएको बताए ।
सिंहले नागरिकको भावना समेटेर शर्माले गीत गाएको भन्दै त्यसको सम्मानस्वरुप आफूले पाउने फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे ।
शून्य समयमा बोल्ने समय पाएका सत्तारुढ दलका सांसद झपट रावलले सिंहलाई जवाफ दिँदै गायक शर्माले गाएको गीत सिंहलाई गाउन चुनौती दिँदै त्यसरी गाए आफ्नो एक महिनाको तलब नै दिने घोषणा गरे । रावलले भने, ‘पुरस्कार घोषणा गर्ने सांसदले यही गीत गाए एक महिनाको तलब दिन्छु ।’
यसअघि सिंहले भन्नुभयो, ‘दुइ तिहाईको सरकारको अगाडि त्यस्तो गीत गाउन पाइन्छ ? जनताको भावना व्यक्त गर्न पाइन्छ ? भन्ने खालको व्यवहार सरकारले देखाएको बताउँदै त्यस्तोलाई त मुखमा ताला लगाउनुपर्छ । सुन्नेको कानमा मर्करी र सिसा पगालेर राख्नुपर्छ भन्ने सरकारको बुझाइले लोकतन्त्र कहाँ छ भन्ने प्रश्न उब्जेको छ ।’
‘सरकारले जनताको भावना, बुद्धिजीविको भावना, गायकको भावनालाई सम्मान गर्न जान्दैन भने जनताले पनि यो सरकारलाई सम्मान गर्न सक्दैन,’ सिंहले भने, ‘जनताको भावना अनुसार सरकार चल्नु पर्छ ।’