मानसिक समस्या समाधानमा गर्न जनशक्ति थपिदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १, बिहिबार (६ घण्टा अघि)
  • ३९ पटक पढिएको
मानसिक समस्या समाधानमा गर्न जनशक्ति थपिदै

जेठ १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशील संघ संस्थाहरूबीच काममा दोहोरोपना हटाउन तथा सहकार्य बढाउन पहल थालेको छ ।

मानसिक स्वास्थ्यका समस्या गम्भीर बन्दै गइरहेको भन्दै मन्त्रालयले यस क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी तथा अन्ताराष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहकार्यको प्रयास अघि बढाएको हो ।

मन्त्रालयमा आयोजित बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य अहिले गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखा पर्न लागेको भन्दै यसलाई सम्बोधन गर्न आवश्यक सबै उपायबारे छलफल गरेर मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताए ।

मानसिक रोगीका संख्या बढ्दै गएकाले यसबाट सबै प्रभावित हुन सक्ने भन्दै उनले समस्याको सम्बोधन कसरी प्रभावकारी गर्न सकिन्छ भनेर प्रयास थालेका बताए । तर यस क्षेत्रमा काम गर्नेले दोहोर्‍याएर नभई क्षेत्र तोकेर काम गर्न आवश्यक रहेको भन्दै त्यसका लागि मन्त्रालयले समन्वय गर्ने मन्त्री पौडेलको भनाइ छ ।

मन्त्रालयले यसका लागि मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेको पनि बताए ।

मन्त्री पौडेलले बालबालिकामा पनि यस्तो समस्या नआओस् भनेर शिक्षा मन्त्रालयसँग मिलेर विद्यालय पाठ्यपुस्तकमा स्वास्थ्य शिक्षा अनिवार्य गरेर मानसिक स्वास्थ्यका विषय समेत राख्ने तयारी अघि बढेको बताए ।

उनले विद्यालय पुस्तकमा मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्यबारे जानकारी समावेश गरिने पनि बताए । उनले विद्यालय स्वास्थ्यदूत कार्यक्रम घोषणा गरेको स्मरण गर्दै आगामी बजेटमा विद्यालय तहसम्म यो कार्यक्रममार्फत बालबालिकामा मानसिक स्वास्थ्यसम्बन्धी सजगता बढाउन प्रयास गरिने बताए ।

मन्त्री पौडेलले संस्थागत विद्यालयमा समेत विद्यालय नर्स कार्यक्रम लैजानेबारे शिक्षा मन्त्रालयसँग सहकार्य गरिने प्रतिबद्धता जनाए।

ताजा अपडेट

खोजी गर्नुहोस