फागुन १२,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बास्नादार विदेशी चामलभन्दा स्वदेशी चामलको भात खाने बानीको विकास गर्नुपर्ने बताएका छन् ।
आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीमा उनले भने ‘बास्नादार र विदेशबाट आयात गरिएको चामलभन्दा स्वदेशमै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले नेपालीको खाने बानी परिवर्तन हुँदै गएको भन्दै त्यसै अनुसार खेती प्रणालीमा पनि सुधार गर्नुपर्ने बताए । ‘पहिला नेपालीहरुमा सागसब्जी कम्ती खाने बानी थियो । अहिले यसमा परिवर्तन आएको छ । त्यसकारण अहिलेको भन्दा चार गुणा बढी सागसब्जीको उत्पादन गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भने ।
उनले दुई तिहाइ जनसंख्या कृषिमा भए पनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभएको छ । ‘हाम्रो देशको लागि यति ठूलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठुलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ’ उनले भने ।
परम्परागत खेती प्रणाली सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्ने पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनाललाई ठोस र प्रभावकारी काम गर्न निर्देशन समेत दिए । मन्त्रालयको तर्फबाट ‘वर्तमान अवस्था र भावी सोच’ बिषयक प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्री ओलीले मन्त्री खनाललाई ठोस र प्रभावकारी योजना बनाएर काम गर्न निर्देशन दिएका हुन् ।