फागुन १६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको धुम्बाराहीस्थित मुख्यलायमा पार्टीको झण्डा आधा झुकाइएको छ ।
नेकपाका नेता एवम् संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री अधिकारीसहित सातजनाको बुधबार ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सिस्नेभिरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको शोकमा झण्डा झुकाइएको हो ।
नेकपाले आफ्नो मुख्यालयमा दुर्घटनामा ज्यान गुमाएका सातैजनाको तस्बिर राखेर शोक व्यक्त गरेको छ ।
बिहीबारै बसेको नेकपा सचिवालय बैठकले आज फागुन १६ गते देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको थियो । त्यसैगरी तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।