फागुन १७, काठमाडौं । हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित अन्य मृतकप्रति सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रम सुरु भएको छ । बिहिबार नै श्रद्धाञ्जलीको कार्यक्रम तोकिएपनि शव परीक्षणको काममा ढिलाई भएपछि शुक्रबार बिहानका लागि सारिएको थियो ।
टुँडिखेलमा केहीबेर अघिदेखि श्रद्धाञ्जलीको कार्यक्रम सुरु भएको छ । ठूलो संख्यामा समर्थकहरु भेला भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री तथा नेताहरु पुगेका छन् ।
श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पनि टुँडिखेलमा आउने कार्यक्रम छ । मन्त्री अधिकारीको शव काठको बाकसमा राखिएको छ ।
टुँडिखेलमा श्रद्धाञ्जलीपछि मन्त्री अधिकारीको शव अन्तिम संस्कारका लागि उनको गृहनगर पोखरा लगिनेछ ।
पोखरामा मन्त्री अधिकारीको राजकीय सम्मानका साथ शुक्रबार नै अन्तिम संस्कार गरिने कार्यक्रम छ । अन्य मृतकको शव आफन्तलाई जिम्मा लगाइनेछ ।