बैशाख २९, काठमाडौँ । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. को मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी “लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)” ले २०८१ साल, वैशाख २८ गते शुक्रबार रामग्राम, परासीमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन एक भव्य समारोहका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ज्यू, लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय जोख बहादुर महरा ज्यू, नेपालका लागि दक्षिण कोरियाका राजदुत महामहिम पार्क ते यन्ग ज्यू, हुन्डाई मोटर भारत लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री उन्सू किम ज्यू, तथा स्थानिय सरकारका जनप्रतिनिधि ज्यूहरुको उपस्थिति रहेको थियो।
कम्पनीको अनुसार ६५,००० वर्ग मीटरको क्षेत्रफलमा फैलिएको एलएमसी ह्युण्डाई मोटर एसेम्बली प्लान्ट, जसमा १४,००० वर्ग मीटरको भव्य निर्माण क्षेत्र रहेको छ, नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी गर्ने दृढताको उदाहरण हो । साथै ५,००० इकाईको वार्षिक क्षमता भएको यस संरचनाले ह्युण्डाई मोटर कम्पनी (एचएमसी) को सबै मापदण्डहरुको पालना गर्दै नेपालभर ह्युण्डाई मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य राखेको छ। एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको भनाई रहेको छ। आयात गरिएका पूर्ण रुपमा विभाजित हुने पाटपुर्जाहरुको सदुपयोग गरी यस आधुनिक संरचनामा त्यसको सतर्कता साथ संयोजन गर्ने प्रणालीले एलएमसीको गुणस्तर प्रतिको प्रतिबद्धतालाई देखाएको छ।