असार २७, काठमाण्डौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउ पूरक आदेश जारी गरी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।
बैठकले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ । मुलुकको विभिन्न स्थानमा भएको बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।