कीर्ते गरेको अभियोगमा ५ जनाविरुद्ध मुद्दा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन २७, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन २७, काठमाडौँ । काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानूनले तोकेभन्दा कम राजश्व लिई जग्गा पास गरेको अभियोगमा मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालयका तत्कालीन अधिकृत पदमप्रसाद अर्याल, तत्कालीन नायब सुब्बाद्वय दयाराम खत्री र लेखनाथ भट्टराईलाई रु ५२ हजार ७१ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले आरोप लगाएको छ ।

यस्तै जग्गाधनी शारदा देउजा र जग्गा खरीदकर्ता कौशलकिशोर श्रीवास्तवविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार हुने गरी कारवाहीको माग दाबी गरिएको छ ।

भक्तपुर चित्तपोल–४ बस्ने शारदा देउजाको नाममा रहेको जग्गामा बनेको घरको रु तीन लाख मात्रै मूल्य राखी कीर्ते कागजात बनाई घरजग्गा बेचबिखन गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

सरकारी कागजात कीर्ते गरी रु तीन लाखको मात्रै रु १२ हजार राजश्व तिरेको र तिर्नुपर्ने रु एक लाख २८ हजार हिनामिना गरेको पाइएको छ ।

यस्तै आयोगले आजै जिल्ला मालपोत कार्यालय सप्तरीका नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेशकुमार साहविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोही जग्गाको बाँडफाँट भई स्रेस्ता कायम गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उनीहरुले घुस मागेको भन्ने आरोप लागेको छ ।

हेटौंडा सिमेन्ट उद्योगमा वरिष्ठ अधिकृत सातौँ तहका मित्रलाल पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस