भाद्र १६, काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत प्राडा कृष्णप्रसाद ओलीले चीन सरकारले अगाडि सारेको परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) बारे सरकारले लिने नीति कार्यान्वयन गर्नेे बताएका छन् ।
संघीय संसद्को संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत ओलीले सांसदहरूले सोधेका प्रश्न र सुझाएका विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रस्तावित राजदूत ओलीले बीआरआईलगायतका योजनाबारे सरकारको निर्णय कार्यान्वयन गर्ने र दुई मुलुकबीच समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा ओलीलाई एमालेका सांसद लिलानाथ श्रेष्ठले बीआरआई कार्यान्वयनबारे के धारणा छ भनी सोधेका थिए । जवाफमा प्राध्यापक ओलीले भने, ‘बीआरआईमा हामी कसरी जाने भनेर सरकारको जे निर्णय हुन्छ, राजदूतले त्यसरी नै जाने हो ।’ उनले ट्रान्स हिमालय सम्बन्धलाई अगाडि बढाउने कि भन्ने नीति पनि लिन सकिने बताएका छन् ।
चीन सरकारको ऋणमा निर्माण गरिएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नेबारे पनि सांसदहरूले प्रश्न गरेका थिए । जवाफमा ओलीले सरकारको तहबाट नै उक्त कार्य भइरहेकाले आफूले गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताएका छन् ।