आजदेखि लगानी सम्मेलन सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र १५, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत १५, काठमाडौँ । ठूलो परिमाणमा विदेशी लगानी जुटाउने उद्देश्यसहित आजदेखि दुईदिने लगानी सम्मेलन काठमाडौंमा सुरु हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा ६ सयभन्दा बढी विदेशी पाहुनाले भाग लिँदै छन् ।

कार्यक्रमका दौरान नेपालले ७७ वटा परियोजनालाई प्रस्तुत गर्ने तयारी गरेको छ । जसमार्फत ३० खर्ब रुपैंयाभन्दा बढी लगानी भित्रिने सरकारले अपेक्षा गरेको छ ।

लगानी बोर्डले सम्मेलनमा सहभागी हुन निम्त्याएका अन्तर्राष्ट्रिय कम्पनी र वित्तीय निकायका उच्च अधिकारीहरु काठमाडौं आइपुगेका छन् । सम्मेलनको पहिलो दिन आज सरकारले गरेको नीतिगत सुधारबारे प्रस्तुति दिइने छ । त्यसैगरी नेपालमा लगानी गरेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताको नेपाल अनुभव समेटिएका पाँचवटा सत्र संचालन हुने छ ।

लगानीकर्तालाई देखाउन यातायात, सहरी, कृषि पूर्वाधार, शिक्षा र स्वास्थ्य, औद्योगिक पूर्वाधार, हवाई पूर्वाधार, पर्यटन र उर्जाका आयोजना छनोट गरिएका छन् । लगानीकर्ताले आफूलाई मन परेको आयोजना निर्माण वा लगानी गर्न सक्ने बोर्डले जनाएको छ ।

त्यही प्रकृतिको आयोजना निर्माणको अनुभव भएको र आयोजनाको कूल लागतको एक तिहाइ खुद सम्पत्ति भएका कम्पनीले मात्र परियोजनामा लगानीका लागि प्रस्ताव दिन पाउने मापदण्ड तोकिएको लगानी बोर्डले जनाएको छ ।

सम्मेलनको दौरान १२ वटा परियोजनाका लागि सम्झौता र समझदारी हुने निर्क्यौल भइसकेको छ । गैरआवासीय नेपाली संघ र सरकारबीच पूर्वाधारमा लगानी गर्ने गरी १० अर्वको कोष स्थापना गर्ने सम्झौता पनि सम्मेलनमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस