जेठ २, काठमाडौं । हावाहुरीले रुख ढाल्दा आज ३ जनाको मृत्यु भएको छ । नवलपरासीमा २ र कैलालीमा एक गरी ३ जनाको मृत्यु भएको हो ।
पश्चिम नवलपरासीको सुनवल–७ मा ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।
आज दिउँसो हावाहुरीसहित आएको पानीबाट जोगिन उनीहरू प्रतिक्षालयमा ओत लागेका थिए । त्यसक्रममा प्रतिक्षालयमाथि नै रुख ढलेपछि उनिहरुको मृत्यु भएको हो । रुखले च्यापेर अन्य तीन जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ ।
यस्तै कैलालीमा हावाहुरीका कारण रुख ढल्दा लागेर एक शिक्षकको मृत्यु भएको छ । आज बिहान चलेको हावाहुरीले रुख ढल्दा राष्ट्रिय कलेज सुखडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
हावाहुरीका कारण घर नजिकै रहेको सालको रुख ढल्दा गम्भीर घाइते भण्डारीको उपचारमा क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अवस्थीले बताए ।