चैत १६, काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज (शनिबार) देशभरि कानून व्यवसायी मतदाताहरूले मतदान गर्दै छन् ।
मतदान बिहान ८ बजे शुरु हुनेछ । मतदान अपराह्न ४ बजे सकिनेछ । बारमा २५ पदका लागि ६३ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा १० हजार एक सय ४१ मतदाता छन् ।
निर्वाचनमा सत्तारूढ नेकपानिकट नेपाल लयर्स एसोसिएसन (एनएलए) बाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ र कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट अध्यक्ष सुनिलकुमार पोखरेल प्यानलसहित मैदानमा उत्रेका छन् । एनएलएलाई मधेसकेन्द्रित दल र डिएलएलाई राप्रपानिकट कानून व्यवसायीको समर्थन छ ।
नयाँ शक्तिबाट अध्यक्षमा कृष्ण शर्मा, महासचिवमा डा. रामहरि त्रिपाठी, कोषाध्यक्षमा नारायण खरेल र सदस्यमा रामबहादुर मिजार पनि प्रतिस्पर्धा गर्दै छन् ।
एनएलए र डिएलएबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । बारमा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एकजना चुनिने व्यवस्था छ ।
महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक–एकजना गरी आठ उपाध्यक्ष र १४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
बारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालत गरी १० ठाउँबाट मतगणना गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए । देशभरको मतपेटिका केन्द्रमा आउन दुई दिन लाग्ने उनले बताए ।