चैत्र १७,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि सबैखालका आधार र संरचना तयार भएको बताएका छन ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताए । ‘समायोजन सहज थिएन, तर सकेका छौँ, कानुन बनाएका छौँ, संविधान कार्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौँ,” उनले भने, ‘समृद्ध नेपाल सुखी नेपालीको सबै आधार तयार भएको छ ।’
समृद्ध नेपाल आफैँ बनाउन सक्षम रहे पनि समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको प्रधानमन्त्रीले बताए । ‘त्यसका लागि लगानी सम्मेलन उत्साह जनक ढंगले सम्पन्न ग¥यौँ, राष्ट्र एक ठाउँमा रह्यो’ उनले भने ।
प्रधानमन्त्रीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक–पटक भए पनि त्यस्ता प्रयास असफल बनाइएको बताए । उनले भने ‘हाम्रो देशमा विभिन्न नाममा द्वन्द्व चलाउने, फाटो लगाउने, अनेक नाममा लडाउन खोज्ने पृथकता सोचहरुलाई अन्त्य गरेका छौँ, अब देश टुक्र्याउनु पर्छ भन्ने माग नरहेको अवस्थामा छ । एकजुट अवस्थामा छ ।’
प्रधानमन्त्री ओलीले सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी सभ्य र सुसंस्कृत समाजका नागरिक हौँ भन्ने भुल्न नहुने बताए । उनले भने ‘हामीले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुँदैन ।’