वर्षाका कारण पूर्वपश्चिम राजमार्ग र कान्ति लोकपथ अवरुद्ध

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २१, आईतबार (८ घण्टा अघि)
  • ६९ पटक पढिएको
वर्षाका कारण पूर्वपश्चिम राजमार्ग र कान्ति लोकपथ अवरुद्ध

वैशाख २१, काठमाडौं । गएरातिदेखि परेको वर्षाले पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने र कान्ति लोकपथको हेटौँडा–काठमाण्डौ सडक अवरुद्ध भएका छन् ।

सडक विस्तारका क्रममा रहेको यो सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

उनले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरे ।

सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दैनिक रूपमा सडक पूर्णरूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लामो लाइन लागेको छ ।

यस्तै हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ पनि वर्षाका कारण अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि आइतबारबिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस