बैशाख २१,काठमाडौँ । प्रतिकूल मौसमका कारण देशको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’ का कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । बिहान ‘इन रुट वेदर’ का कारण अन्तर्राष्ट्रियतर्फ जजिरा एअरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एअरको पर्वतीय उडान (माउन्टेन फ्लाइट) को विमान डाइभर्ट भएको उनले जानकारी दिए ।
रामेछापबाट लुक्ला उड्ने समिट र तारा एअरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् । वर्षा रोकिएसँगै काठमाण्डौ विमानस्थलसहित काठमाण्डौबाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका प्रवक्ता शेर्पाले जानकारी दिए । दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायु सेवा निगमको काठमाण्डौ–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको उनले बताए ।
काठमाण्डौ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो । अहिले काठमाण्डौ आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाण्डौसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाले निकालेको मौसम ‘बुलेटिन’ मा उल्लेख छ ।
बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेकाले वर्षा गराएको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँ तथा बाँकी भू–भागका केही ठाउँमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका हिमाली तथा पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ ।