वैशाख २३, काठमाडौं । केन्द्रीय तथ्याङ्क कार्यालयले सन् २०५० सम्म, विश्वभरि प्रत्येक छ जनामा एक जना बुढ्यौली जनसङ्ख्या अर्थात् ६५ वर्ष र सोभन्दा माथिका हुने अनुमान गरेको छ । जन्मदर र मृत्युदर घटिरहेको अवस्था सँगसँगै नेपालको जनसङ्ख्या पनि संक्रमणकालतर्फ तीव्र गतिले प्रवेश गरिरहेको तथ्यांक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार साठी वर्ष र सोभन्दा माथिको उमेर समूहको जनसङ्ख्या वि.सं. २०६८ को ८.१ प्रतिशतबाट २०७८ मा १०.२ प्रतिशतमा बढेको छ । जसले वि.सं. २१११ सम्ममा नेपाल एक बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरिएको छ । यसले स्वभावतः आवास व्यवस्था, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरणपोषणमा विशेष चुनौतीको सिर्जना गर्ने तथ्याङ्क कार्यालयले बताएको छ ।
कार्यालयका अनुसार नेपालमा वृद्ध व्यक्तिहरूको जनसङ्ख्या २०४८ देखि लगभग तीन गुणा बढेको छ । बालबालिकाको जनसङ्ख्या घट्दै गएको छ । त्यसैगरी काम गर्ने उमेर समूहको जनसङ्ख्या पनि घट्दै गएको तथ्याङ्क कार्यालयले बताएको छ ।
जनगणनाबाट प्राप्त नतिजामा १२४ ओटा मातृभाषा, ११७ ओटा दोस्रो भाषा र १२४ ओटा पुर्खाको भाषा पहिचान गरिएको छ । कम्तीमा १ लाख वक्ता भएका भाषा नेपालमा कुल २१ ओटा छन् । यी भाषाले कुल जनसङ्ख्याको ९५ प्रतिशत अंश ओगटेका छन् ।