वैशाख २३, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले नक्सालस्थित नेपाल बाल संगठन (बाल मन्दिर)को जग्गा लिजमा लगाउँदा भएको हिनामिनामा ठगी मुद्दा चलाउने निर्णय गरेको छ । कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययनपछि मुद्दा चलाउनुपर्ने निर्णय गरेको हो ।
यसअघि सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको भएपनि महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधिवक्ता सूर्यराज दाहालले मुद्दा चलाउने निर्णय गरी फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पठाइएको बताए ।
प्रवक्ता दाहालले भने, ‘मुद्दा चलाउन नपर्ने भनी राय आएको थियो, त्यसलाई उल्ट्याएर मुद्दा चलाउनुपर्ने भनी निर्देशन दिने निर्णय भएको छ । फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइसकिएको छ ।’
बाल संगठनको अध्यक्षमा रिता सिंह वैद्य रहेका बेला अनाथ बालबालिका हितमा स्थापना भएको बाल संगठनको जग्गा कौडीको भाउमा व्यापारीलाई दिएर हिनामिना भएको विभिन्न छानविन समितिले औंल्याएको छ । मुख्य आरोपी उनी उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी हुन् ।
बाल संगठनको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक वर्षअघिदेखि नै यसमा अनुसन्धान गर्दै आएको थियो । बृहस्पति विद्या सदनले ठगी गरेको भन्दै सम्झौता रद्द गरी त्यसविरुद्ध बाल संगठनले नै १५ बैशाख २०८१ मा सिआइबीमा जाहेरी दिएको थियो ।
सुरुमा मुद्दा नचलाउने तयारी भएपनि महान्यायाधिवक्ता कार्यालयले गत महिना थप अनुसन्धान गर्न निर्देशन दिएको थियो । थप अनुसन्धानपछि मुद्दा चलाउने निर्णय भएको हो । उक्त निर्णयपछि जग्गा हिनामिनामा संलग्न रितासहित १७ जनाविरूद्ध ठगी मुद्दा चल्नेछ ।
बाल मन्दिरको २८ रोपनी पाँच आना जग्गा ०४९ देखि निजी स्कुल बृहस्पति विद्या सदनलाई विनाप्रतिस्पर्धा न्यून दररेटमा २१३१ सालसम्मका लागि लिजमा लगाएको थियो । बाल संगठनको जग्गा लिजमा अनियमितता मात्रै नभई संगठनको पूरै जग्गा धितो राखेर बृहस्पति विद्या सदनले बैंकबाट ४४ करोड कर्जा लिएको थियो ।
बृहस्पतिले लिजमा पाएको जग्गा २८ रोपनी हो । तर, बाल संगठनको नाममा ५२ रोपनी रहेकोमा पूरै जग्गा धितो राखेर ऋण निकाल्ने सहमति पूर्वअध्यक्ष रिता सिंह वैद्य नेतृत्वको कार्यसमितिले गरेको थियो ।
१ फागुन ०४९ देखि बाल संगठनको जग्गा बृहस्पति विद्या सदनले लिजमा लिएर विद्यालय चलाउँदै आएको छ । त्यसयता ६ पटक विनाप्रतिस्पर्धा सम्झौता गरी उसलाई नै लिजमा दिने काम भएको छ । ०५८ मा भएको सम्झौतामा ०८९ सम्म कायम हुने उल्लेख गरिएकोमा ०७२ मा पूरक सम्झौता गरी २१३१ सम्मलाई लिजमा दिने निर्णय गरिएको थियो । सो जग्गामा बृहस्पति विद्या सदन, राई स्कुलका साथै व्यावसायिक कार्यालयसमेत सञ्चालनमा छन् ।