जेठ ११, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन् । पाँचदिने जापान भ्रमण सकेर शनिबार स्वदेश फर्किएकी उनले भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्त्वपूर्ण व्यक्तित्सँग भेटवार्ता भएको बताइन् ।
भेटका क्रममा नेपाल–जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको बताउँदै ती भेटवार्ताहरू देशका लागि उपलब्धिमूलक रहेका जानकारी दिइन् । त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरुका सम्बन्धमा अन्य देशहरुले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाका बारेमा पनि जान्ने मौका मिलेको उनको भनाई छ ।
परराष्ट्रमन्त्री डा. राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच यही जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटका अवसरमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिइन् ।
त्यसैगरी यही जेठ ९ गते जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग पनि भेटवार्ता गरेकी थिइन् । सो भेटमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत् जापान सरकारले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाहरूका बारेमा कुराकानी गरेकी थिइन् ।
यसअघि राणासँग जापानका उपविदेशमन्त्री इकुइना अकिकोले पनि शिष्टाचार भेटवार्ता गरेकी थिइन् । गत हप्ता नेपालमा आयोजित सगरमाथा संवादमा सहभागी भएकी उपविदेशमन्त्री अकिकोलाई मन्त्री डा. राणाले धन्यवाद ज्ञापन गरिन् ।
जापानमा रहँदा मन्त्री डा. राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन पनि गरिन् । उनी गत सोमबार जापान गएकी थिइन् ।