विश्व थाइराइड दिवस

थाइराइड के हो, कसरी चिन्ने ?

थाइराइड के हो, कसरी चिन्ने ?

जेठ ११, काठमाडौं । आज मे २५, विश्व थाइराइड दिवस नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । ‘थाइराइड समस्यामा रोकथाम र समयमै पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालि, काठमाडौं डाइबेटिज एन्ड थाइराइड सेन्टर र लाइन्स क्लव अफ काठमाडौं अल्काले संयुक्त रुपमा र्‍याली निकालेको छ ।

अल्का अस्पतालबाट सुरु भएको र्‍याली जावलाखेल, कुमारीपाटी, मंगलबजार, पुल्चोक हुदैँ पुन अल्का अस्पतालमा आएर समापन भएको छ । विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म निशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्दैछ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा थाइराइडबाट पीडित बिरामी ३० करोडको हाराहारीमा पुगेका छन् । हर्मोन ग्रन्थीबाट हुने थाइराइडबाट नेपालमा कुल जनसङ्ख्यामध्ये झन्डै १२ प्रतिशत पीडित रहेको अनुमान छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा थाइराइड नौ जना महिलालाई हुँदा एक जना पुरुषलाई हुने गरेको छ । चिकित्सकहरुका अनुसार ५० प्रतिशत मानिसलाई थाइराइड भए पनि लक्षण पत्ता लाग्दैन । थाइराइड रोग विशेषज्ञ डा. भोजराज अघिकारीले पुरुषभन्दा महिलामा १० गुणा बढी थाइराइड देखिने गरेको बताए ।

नेपालमा थाइराइड बढ्नुको मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै रहेको डा. अशुंमाली जोशीले बताए । शरीरमा आयोडिन थोरै वा धेरै हुदाँ थाइराइड ग्रन्थीहरुलाई असर गर्ने उनले बताए । थाइराइड पहिचानका लागि रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ ।

थाइराइड के हो ?
थाइराइड घाँटीमा हुने ग्रन्थी हो । त्यसले थाइराइड हर्मोन उत्पादन गर्छ । त्यो हर्मोनको उत्पादनमा गडबढी भयो भने हामी थाइराइड लागेको भनिन्छ । कसै–कसैको गन्थ्रीमा ट्युमर पलाएर पनि थाइराइड देखापर्छ ।

थाइराइड मुख्य गरी दुई किसिमको हुन्छ, जसलाई हाइपो र हाइपर थाइराइड भनिन्छ । हाइपो भनेको थाइराइड ग्रन्थीले कम काम गर्ने कमीको रोग हो भने हाइपर थाइराइड ग्रन्थीले बढी हर्मोन निकाल्नु हो, जसलाई बढी हुने रोग भनिन्छ । अर्को थाइराइड गन्थीको क्यान्सर हो ।

हाइपो थाइराइड भएमा बढी थकाइ लाग्ने, शरीर सुन्निने, फुल्ने, निद्रा बढी लाग्ने, छाला फुस्रो हुने, नङ भाँचिने, कपाल झर्ने, महिलामा महिनावारी गडबढी हुने जस्ता समस्या देखिन्छ ।

यस्तै हाइपरको मुख्य लक्षणमा मुटुको धड्कन बढी हुने, तौल घट्ने, गर्मी महसुस् हुनु, पसिना धेरै आउनु, दिसा धेरै पटक लाग्नु, हात खुट्टा काम्नु, सास फुल्नु, निन्द्रा नलाग्नु जस्ता समस्या देखिन्छ । साथै थाइराइड ग्रन्थीको क्यान्सरका लक्षणमा भने गलगाँड छिटो छिटो बढ्नु, गलगाँड दुख्नु, आवाज परिवर्तन हुनु, खान निल्न गाह्रो हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस