जेठ २४, काठमाडौं । नेपाली कांग्रेसका नेता सांसद डा. शेखर कोइरालाले नेताहरूलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरूलाई प्रश्न गर्न नसक्ने कार्यकर्ताहरू दास हुने बताएका हुन् ।
कोइरालाले देशकै ठूलो पार्टी आन्तरिक गतिविधि रोकिदा हामी कहाँ छौँ कसैले सोध्न र सोच्न नसकेको बताए । उनले भने, ‘नेताहरूलाई जबसम्म कार्यकर्ताहरूले प्रश्न गर्न सक्नुहुन्न कार्यकर्ताहरू दास हुन्छन् । तपाईंहरू कसैको दास होइन । यो कुरा गम्भीरतापूर्वक बुझ्नुस् ।’
कोइरालाले चार वर्षभित्र गरिनुपर्ने पार्टीको महाधिवेशन अहिलेसम्म गर्न नसकेकोमा प्रश्न गर्दै देशको ठूलो पार्टी भविष्यमा कमजोर बन्नसक्ने चेतावनी पनि दिए ।
‘केही त्यस्तो घटना त देशमा भएको छैन, नेपाली कांग्रेसमा केही भएको छैन, किन ४ वर्षभित्र अधिवशेन हुन सकेन? मंसिरमा हुनुपर्ने हो नि । ४ वर्षमा हुन सकेन भने तापनि भनेर एउटा वाक्यमा भनिदिएको छ-एक वर्ष थप्न सक्ने । तपाईंहरूले पदाधिकारीलाई प्रश्न गर्नुस्, के कारणले थप्ने भनेर । किन प्रश्न गर्न सक्नुहुन्न ? सक्नुपर्छ नि त, उनले भने ।’
उनले थप भने, ‘समयमा अधिवेशन हुनुपर्छ । त्यो समय भनेको ४ वर्ष हो । सधैँ नेपाली कांग्रेसलाई यसैगरी चलाउने हो भने नेपाली कांग्रेसको भविष्य कमजोर हुन्छ । लार्जेस्ट पार्टी भइसकेपछि ढाई वर्षदेखि हामी कहाँ छौँ ? कसैले कसैलाई प्रश्न गर्दैनौँ ।’