चैत २६, जनकपुर। सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले सर्वोच्च अदालतले गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन भनि गरेको परिपत्रलाई कार्यान्वयन नगर्न जारी गरेको आदेशको विरोध गर्दै प्रदर्शन गरेको छ ।
जन्मसिद्ध तथा जन्मको आधारमा नागरिकता सर्वोच्च अदालतले दिन भनेको केही दिन नबित्दै पुनः सर्वोच्च अदालतले नै नागरिकतामा रोक लगाएपछि फोरम नेपालको भातृ सङ्गठन समाजवादी विद्यार्थी फोरम धनुषाले आज बेलुका जनकपुरको भानु चोकमा सर्वोच्च अदालतको आदेशको प्रतिलिपि जलाएको हो ।
समाजवादी विद्यार्थी फोरम धनुषाको उपाध्यक्ष विकास यादवको अगुवाईमा अदालतको निर्णय मधेस विरोधी भएको भन्दै प्रतिलिपि जलाइएको हो ।
प्रदर्शनका क्रममा युवाहरुले सर्वोच्च अदालतको निर्णय तत्काल सच्याउन माग गरेका थिए । फोरम कार्यकर्ताले सर्वोच्च अदालतको निर्णय नसच्याए आन्दोलन चर्काउने धम्की समेत दिएका छन् ।