जेठ १३,काठमाडौँ । कंगोको मे–एनदोम्बे तालमा डुंगा दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ भने दुई सयभन्दा बढी बेपत्ता भएका छन् ।
डुंगा दुर्घटनामा हराइरहेका मानिसहरुको खोजी कार्य भैरहेको अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म ३० जनाको शव फेला परेको छ । ‘ज्यान गुमाउनेमा १२ जना महिला, ११ जना बालबालिका र सात जना पुरुष रहेका छन्,’ इनोंगो राज्यका मेयर साइमन वेम्बाले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन् ।
दर्जनौं मानिसहरु हराइरहेका हुनोले ज्यान गुमाउनेको संख्या बढ्नसक्ने बताइएको छ । डुंगामा कति जना सवार थिए यो भने पत्ता लाग्न सकेको छैन किनकि डुंगामा कैयौं अवैध प्रवासीहरु पनि थिए । यद्दपि डुंगामा तीन सय ५० भन्दा बढी मानिसहरु रहेको हुनसक्ने एक अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीलाई बताए ।
गएको अप्रिलमा पनि दुई वटा छुट्टा छुट्टै डुंगा दुर्घटनामा एक सय ६० भन्दा बढीले ज्यान गुमाएका थिए ।
कंगोमा यस्तो दुर्घटना भने नौलो होइन । डुंगामा क्षमताभन्दा यात्रुका कारण बर्सेनि धेरै मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।