जेठ २१,काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको बजेट ठिकै रहेको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेता पाण्डेले मुलुकलाई सही बाटोमा अघि बढाउने गरी बजेट आएको बताएका हुन्। आन्तरिक ऋण १९५ अर्व नै चाहिन्छ भन्ने नभएकोले बजारमा पैसाको अभाव नहुने र यसले तरलता उत्पन्न नहुने बताए । नेता पाण्डेले आर्थिक व्यवस्थालाई सही दिशामा लैजान अर्थ मन्त्रालयले गम्भिर योजना बनाएर अघि बढेकोले वितिय संकट आउने प्रतिपक्षीको भनाईमा कुनै तुक नरहेको समेत बताए । बजेटले राजस्व संकलनको लक्ष्य पनि व्यवहारिक रहेको बताए । उनले भविष्यमा सजग हुनुपर्ने विषयमा समेत ध्यानाकर्षण गराएका थिए । जलबिद्युत उत्पादनमा भ्याटमा छुट गरका कारण गिरावट आउन सक्ने र आम्दानी करमा केही चुनौती रहेको उनले बताए ।
आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले बजेटले वित्तिय अनुशासनलाई पनि ख्याल गरेको स्पष्ट पारे। सरकारले आगामी आर्थिक वर्ष साढे ८ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ।
नेता पाण्डेले सरकारले सो लक्ष्य हासिल हुने गरी बजेट ल्याएको पनि बताए। मुलुकको आर्थिक वृद्धिदरलाई कायम गर्न स्रोतको अभाव बजेटमा नदेखिएको नेता पाण्डेको भनाई छ।
नेता पाण्डेले मुलुकको आर्थिक वृद्धिदरलाई बढाउन सिमेन्ट, जस्ता, रडजस्ता देशभित्रै उत्पादन हुने बस्तुहरुले सघाउ पु(याउने विश्वास पनि व्यक्त गरे। बजेटमा अनुदानमा बढावा गरिएकाले कृषि उत्पादन वृद्धि हुँदा पनि नेपालको आर्थिक वृद्धिदर बढेर जाने उनको बुझाई छ।