जेठ २४,काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी माग गरेको विषयमा जानकारी लिन संसदीय समितिले बोलाएको बैठकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित अनुपस्थित भएका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बिहानको बैठकमा मन्त्री पण्डितलाई बोलाए पनि उनी अनुपस्थित भएका हुन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सिफारिसमा लोकसेवा आयोगले देशभरका स्थानीय निकायमा खुला कर्मचारी भर्नाको विज्ञापन गरेपछि समावेशी नभएकोलगायत प्रश्न उठेको छ । यसमा प्रदेश २ मा थप असन्तुष्टि छ । उसले लोकसेवाले लिएको भर्ना अमान्य हुने बताइसकेको छ । यहीबीच मन्त्रालयको धारणा बुझ्न समितिले मन्त्रीलाई बोलाएर छलफलको प्रयास गरिरहेको छ ।
तर शुक्रबार बिहान ८ बजे बोलाइएको बैठकमा मन्त्री पण्डित आफू नगएर सचिव यादव कोइरालालाई पठाएका छन् । यसअघि पनि यसै विषयमा जानकारी लिन समितिले बोलाउँदा मन्त्री पण्डित अनुपस्थित भएका थिए ।
मन्त्रीले समितिको निम्तो अस्वीकार गरे पनि अहिले यसबारे समितिमा छलफल चलिरहेको छ ।