असार १४,काठमाडौँ । बर्षौंसम्म घरको एउटा कुनामा राखिएको सामानले पनि करोडपती बनाउन सक्छ । स्विटजरल्याण्डका एक दम्पत्तिले (४.९ मिलियन डलर) ५४ करोड रुपैयाँ पर्ने कचौरा टेनिस बल राख्न प्रयोग गरिरहेका थिए । उक्त कचौरा ती दम्पत्तिले चीनको यात्राको क्रममा खरिद गरेको बताए । लिलामी विशेषज्ञका अनुसार उक्त कचौरा १७ औं शताब्दीको हो ।
कचौराका मालिकका अनुसार उक्त कचौरा यति दुर्लभ र विशेष छ भन्नेबारे आफूलाई थाहै थिएन । स्विस अक्सनियर कोलर अक्सन ती स्विस परिवारको घरमा केही वस्तुको मूल्याङ्कनका लागि जाँदा उक्त कचौरा देखेर जिल खाएको सिएनएनले बताएको छ ।
यो चिनियाँ शासकका लागि बनाएको हुनसक्ने अनुमान गरिएको छ । ‘जब उनीहरुले उक्त कचौरा देखे तब चकित भए । उनीहरुले यस्तो पहिले कहिले देखेका थिएनन्,’ कोलर अक्सनका मिडिया रिलेशन एवं मार्केटिङका प्रमुख कार्ल ग्रीनले सिएनएनलाई भने ।
परिवारले उक्त कचौरालाई बर्लिनको संग्रहालयमा राख्ने प्रस्ताव पनि राखे तर यसमा उनीहरुले रुची नदेखाएको बताइएको छ । यस्तै, ब्रिटिश अक्सन हाउसले पनि यो १९ औं शताब्दीको हुनसक्ने बताउँदै फोटो हेरेर नै यसलाई अस्विकार गरेको थियो ।
‘त्यसपछि परिवारले यो खासै मूल्यवान् र विशेष नभएको सोचे तर यो उनीहरुलाई निकै मन परेको थियो । यसलाई उनीहरुले दराजमा राखेका थिए । घरमा कचौरा भएपछि त्यसमा केही सामान त राखिन्छ र यसमा उनीहरुले टेनिस बल राखेका थिए,’ ग्रीनले भने ।
एजेन्सीको सहयोगमा