अफगानिस्तानको कावुलमा शक्तिशाली बम विस्फोट, ३४ भन्दा बढी व्यक्तिको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ अषाढ १७, मंगलबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार १७,काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा ३४ भन्दा बढी व्यक्तिको ज्यान गएको छ । यस विस्फोटमा अन्य ६८ जना घाइते भएका छन् ।

टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र यही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

सुरुमा आतङ्ककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारी उक्त स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारहरुलाई समेत यस इलाका जानका लागि अनुमति नदिएको अन्तर्राष्ट्रिय समाचारमा जनाइएको छ ।

घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस