असार ३०, काठमाडौँ । सत्तारुढ दल नेकपाका सांसदहरुले प्रतिपक्ष नेपाली कांग्रेसका कारण संसद बैठक लामो समयका लागि स्थगित भएको आरोप लगाएका छन् ।
सभामुख कृष्णबहादुर महराले सोमबार आउँदो साउन ८ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाका सातजना सांसदले कांग्रेसमाथि दोष लगाएका हुन् ।
सांसदहरु नवराज सिलवाल, सुरेश राई, यज्ञ सुनुवार र विशाल भट्टराईलगायतले बाढी–पहिरोबाट राष्ट्रिय विपद् उत्पन्न भइरहेका बेला कांग्रेसले संसदलाई बन्दी बनाएको आरोप लगाए ।
उनीहरुले बाढी–पहिरोपीडितलाई तत्काल उचित राहत वितरण गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।