कांग्रेसमा नियमावली विवाद : सदस्यता शुल्क घटाइने लेबीको नाम फेरिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ श्रावण १, बुधबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

साउन १, काठमाडौँ । कम्युनिस्ट पार्टीमा जस्तै लेबी उठाएर पार्टीको चरित्र मास्न खोजेको भन्दै आलोचना भएपछि कांग्रेसको नियमावली समितिले प्रस्तावित प्रावधानहरू संशोधनको तयारी गरेको छ । उसले लेबी अर्थात् सदस्यता शुल्क घटाउने भएको छ । यसअघि कांग्रेसको क्रियाशील सदस्यता लिन दुई सय र नवीकरण गर्न एक सय रुपैयाँ रहेकामा नियमावली मस्यौदा समितिले नयाँ सदस्यता शुल्क पाँच सय र नवीकरण शुल्क ३६५ रुपैयाँ बनाएको थियो । कांग्रेसमा रहेका चार लाख ७० हजार क्रियाशील सदस्यलाई दिनको एक रुपैयाँका दरले ३६५ रुपैयाँ लेबी लिने प्रस्ताव थियो ।

नियमावली मस्यौदा समितिको प्रस्तावमा केन्द्रीय सदस्यहरूले विरोध जनाएपछि घटाउने तयारी भएको हो । असार २२ बाट सुरु भएर तीन दिनसम्म चलेको बैठकले उठेका विषयलाई मस्यौदा समितिले सहमतिमा टुंग्याउने गरी केन्द्रीय समितिबाट सर्वसम्मत पारित भएको थियो ।

नियमावली मस्यौदा समितिका संयोजक रमेश लेखकले शुल्क केही घट्ने जानकारी दिए । ‘केन्द्रीय कमिटीमा उठेका विषयलाई समावेश गर्ने गरी नियमावली परिमार्जन गर्ने गरी केन्द्रीय समितिबाट पारित भएको हो,’ लेखकले नयाँ पत्रिकासित भने, ‘सदस्यता शुल्क थोरै घटाउँछौँ, लेबीको नामको विषयमा पनि कुरा उठेको छ । नाम ठूलो कुरा होइन, बिरालो कालो छ कि सेतोभन्दा पनि मुसा मार्छ कि मार्दैन भन्ने ठूलो कुरा हो ।’

रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले लेबी शब्द नराखी शुल्क मात्रै राख्नुपर्ने प्रस्ताव गरेको छ । कम्युनिस्ट पार्टीजस्तै गरी लेबी लिएर मासबेस पार्टीलाई क्याडरबेसमा लाँदा पार्टीको लोकतान्त्रिक चरित्र नै गुम्ने भन्दै पौडेल–सिटौला पक्षका प्रायः सबै नेताहरू यो प्रावधानको विरोधमा छन् । यसअघि साधारण सदस्यता लिन १० रुपैयाँ लाग्नेमा संशोधित नियमावलीमा ५० रुपैयाँ लिने उल्लेख छ । साधारण सदस्यतातर्फ नेताहरूको विरोध छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस