साउन २०, काठमाडौं । प्रतिनिधिसभाले सोमबार गठन गरेको संसदीय विशेष समितिका संयोजक सुवास नेम्वाङले संसद बैठक अवरुद्ध नहुने गरी अध्ययन प्रतिवेदन तयार पारी संसदमा पेश गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सत्तारुढ नेकपा संसदीय दलका उपनेता समेत रहेका संयोजक नेम्वाङले संविधान, नियम र स्थापित परम्परालाई समेत ध्यानमा राखेर संसद अवरुद्ध नहुने गरी आवश्यक सुझाव संसदमा पेश गर्ने गरी प्रतिनिधिसभाले आफू नेतृत्वको विशेष समितिलाई कार्यादेश दिएको पनि स्पष्ट पारे ।
संघीय संसदको प्रतिनिधिसभाले प्रतिनिधिसभा भइरहेको अवरोधका सम्बन्धमा र आगामी दिनमा त्यसो हुन नदिने गरी आवश्यक सुझाव दिन ३० दिनको म्यादसहित नेम्वाङको नेतृत्वमा काँग्रेस सचेतक पुष्पा भुसाल र नेता मिनेन्द्र रिजाल, नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र विन्दा पाण्डे, सत्ता साझेदार समाजवादी पार्टी, नेपालका उमाशंकर अरगरिया र राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्ण सदस्य रहेका ७ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । सो समितिले तोकिएको समयभित्र फेरि संसद बैठक अवरुद्ध नगर्ने गरी आवश्यक अध्ययन प्रतिवेदन संसदमा पेश गर्ने समितिका संयोजक नेम्वाङले बताए ।
काँग्रेस सचेतक एवम् सो समितिकी सदस्य पुष्पा भुसालले सर्लाही घटनाका सम्बन्धमा पनि समितिले अध्ययन प्रतिवेदन तयार पारी संसदमा पेश गरेर सरकारलाई आवश्यक निर्देशन दिने बताए । उनले सरकारलाई संसदप्रति जवाफदेही बनाउन पनि सो समिति उपयोगी हुने विश्वास पनि व्यक्त गरे ।