भाद्र ८, काठमाडौं । राजस्व चुहावट गर्नेप्रति अर्थमन्त्री युवराज खतिवडा कठोर देखिएका छन् । मन्त्री खतिवडाले राजस्व चुहावट (अनुसन्धान नियन्त्रण) ऐन २०५२ लाई संशोधन बनेको ऐनको प्रस्तावमा जरिवाना र जेल सजाय बढाएका छन् ।
राजस्व चुहावट (अनुसन्धान नियन्त्रण) ऐन २०५२ लाई संशोधन मस्यौदामाथि संघीय संसदको अर्थ समितिमा अहिले छलफल भइरहेको छ ।
संशोधन मस्यौदामा ‘सम्म, देखि, वा, र’ जस्ता दोहोरो अर्थ लाग्ने शब्द राखेको भन्दै यस्ता शब्द नराख्न अर्थ समितिका सभापति कृष्ण दाहालले सुझाब दिएका छन् ।
‘सम्म, देखि, वा, र,’ भनेको के हो ? आइतबारको बैठकमा सभापति दाहालले प्रश्न गरे ।
सभापतिले नै यस्तो प्रश्न गरेपछि यी शब्दमाथि सांसदहरुबीच छलफल भयो । यही शब्दको लागि सांसद, अर्थ मन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना र अर्थ मन्त्रालयका अधिकारीबीच झण्डै १७ मिनेट छलफल भएको थियो ।