जेठ ७,काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा का वरिष्ठ नेता विजय जोलीले हिन्दु राष्ट्रका लागि नेपाली जनतामा गहिरो भावना रहेको बताएका छन् । बुधवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता जोलीले सो कुरा बताएका हुन् ।
इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड पार्टनरसिपको निमन्त्रणामा चार दिने भ्रमणमा रहेका जोलीले राष्ट्रपति रामचन्द्र पौडेल, विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन् ।
नेपालका ८१ प्रतिशत हिन्दु जनताले नेपालमा हिन्दु राष्ट्र चाहने बताउँदै उनले हिन्दु राष्ट्रका लागि प्रयास गर्छन् भने त्यसमा आफ्नो साथ रहने बताए ।
चार दिने नेपाल भ्रमणमा नेपाली जनताको भावना थाहा पाएको बताउँदै उनले यसमा यहाँका राजनीतिक दलले पुनःविचार गर्ने हो कि भन्ने आशा आफूमा रहेको बताए । यद्यपी नेपालको हरेक निर्णयमा भारतले कुनै हस्तक्षेप नगर्ने उनको भनाई थियो । जोलीले केही हप्ता अघि भारतको पहलगाममा भएको आतंकवादी हमलाको विपक्षमा नेपालले राखेको अडान र भारतलाई दिएको साथको प्रशंसा समेत गरे । उनले प्रधानमन्त्री केपी ओलीले घटना भएको १२ घण्टा नबित्दै नरेन्द्र मोदीलाई फोन गरेर साथ र सहयोगको प्रतिबद्धताले भारतलाई थप उर्जा मिलेको बताए ।
४ दिने भम्रण सकाएर आज दिल्ली फर्केका जोलीले नेपालको हरेक विपतीमा भारतको पुर्ण साथ र सहयोग रहने बताउदै काठमाडौँलाई दुख्दा दिल्लीलाई पनि उत्तिकै दुख्ने बताए । भारतीय सेनामा ३२ हजार नेपाली गोर्खा सैनिक रहेको उल्लेख गर्दै नेता जोलीले रक्षा र सुरक्षाको क्षेत्रमा पनि नेपाल र भारतको उदाहरणिय सहकार्य रहेको बताए ।
भारतले हिन्दु राष्ट्रको पक्षमा वकालत गरेर राजा फर्काउने प्रयास गरेको हो भन्ने पत्रकारहरुको प्रश्नमा जोलीले हिन्दु राज्य र राजाको विषयमा कुनै तालमेल नै नरहेको भन्दै दुनियामा राजतन्त्रको अन्त्य भैसकेको बताउदै नेपालमा त्यस्ते सम्भव आफुलाई नलागेको बताए । नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले नेपाल नीतिलाई प्राथामिकतामा राखेको उनको भनाई थियो ।
उहाँ राज ढुंगाना अनलाइन केन्द्र डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |