कार्तिक ६, काठमाडौं । भारतीय नागरिक भएको भन्दै विवादमा आएका नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले आरोप प्रमाणित भए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन्।
भारतको निर्वाचनमा भाग लिएको कुनैपनि प्रमाण भेटिए आफुलाई जस्तोसुकै सजाय दिन पनि उनले चुनौती दिए। नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कँडेलले आफुलाई फसाउने षड्यन्त्र भइरहेको दावी गरे।
‘म सानैदेखि भारतमा बसेर पढेको हो। त्यहाँ म साथीको घरमा बस्थेँ। तर मैले भारतमा कुनैपनि निर्वाचनमा भाग लिएको छैन’, कँडेलले भने।
कँडेल भारतीय नागरिक भएको र त्यहाँको नागरिकका रुपमा उनले निर्वाचनमा मतदान समेत गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले यसबारे अनुसन्धान गरिरहेको छ।
उनले आफू शान्तिका लागि लडेको तर आफूलाई भारतीय भन्दै आरोपित गरिएको भन्दै दु:ख पनि व्यक्त गरे।
नवलपरासीको रमपुरवा गाविस–६ हाल पालिनन्दन गाउँपालिका–१ मा २०१३ साल चैत ४ गते जन्मिएका कँडेल २०३८ सालमा पहिलोपटक प्रधानपञ्च निर्वाचित भएका थिए। त्यसपछि अर्को एक कार्यकाल पनि उनी प्रधानपञ्चमा निर्वाचित भए।
२०५१ र २०५६ सालमा भएको निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर ४ बाट निर्वाचित कँडेल संसदीय दलको सचेतकसमेत भएका व्यक्ति हुन्।
२०७४ मा भएको प्रतिनिधिसभा चुनावमा नवलपरासी–२ बाट निर्वाचित कँडेल राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य छन्।